Monday, March 27, 2017
भारतीय राजदूत भेटघाटमा सक्रिय
चैत्र १४, २०७३- कार्यभार सम्हालेलगत्तै भारतीय राजदूत मन्जिभसिंह पुरी राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । पुरीले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासँग ‘डिनर बैठक’ गरे भने सोमबार एमाले अध्यक्ष केपी ओलीसँग एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता गरे । देउवासँग उनको करिब दुई घण्टा लामो बैठकमा दुई देशको सम्बन्ध र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दूतावास स्रोतले बतायो ।
युरोपियन युनियन, बेल्जियम र लग्जेम्बरका लागि भारतीय राजदूतका रूपमा काम गरिसकेका पुरी नेपाल आएको भोलिपल्टै पशुपतिनाथ दर्शन गर्न पुगेका थिए । त्यसै दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाए । परम्पराअनुसार राष्ट्रपतिसँगको भेटलगत्तै केही राजदूतहरू परराष्ट्रमन्त्रीलाई भेट्न आउँथे । तर, परराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीन भ्रमणमा रहेकाले त्यो भेट हुन पाएन ।
नेपालको संविधानको भारतले स्वागत नगरी आलोचना गरेकोप्रति लक्षित गर्दै ओलीले राजदूत पुरीलाई ‘हामीहरूको आ–आफ्नो शैली र परम्परा हुन्छ । लामो प्रयासपछि सहभागितामूलक व्यवस्था र अधिकारका हिसाबले विश्वकै उत्कृष्ट संविधान हामीले जारी गरेका छौं । त्यसमा भएका केही कमीकमजोरी समयअनुरूप सच्चिँदै जानेछ’ भनेको उनी निकट एक नेताले बताए ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले यो भेट परिचयात्मक भएको बताए । नेपाल–भारत सम्बन्धका विविध आयाम र बेला–बेलामा देखापर्ने असमझदारीबारे ओलीले राजदूतलाई स्पष्ट पार्न धेरै उदाहरण र पूर्वीय दर्शनसमेत सुनाएको उनी निकट नेताले बताए । ओलीले मधेसको विषयमा भारतले कुनै दख्खल नराखोस् भन्नेमा जोड दिएको पनि ती नेताले बताए । राजदूत पुरीले सम्बन्ध थप बलियो र सशक्त पारेर अघि बढ्ने बताएका थिए ।
About the Author
manita thapa
Author & Editor
Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.
Subscribe to:
Post Comments (Atom)

Post a Comment