चैत्र १४, २०७३- ब्रिटेनमा कार्यरत नेपाली कानुन व्यवसायी, गैरआवासीय नेपाली, भूतपूर्व गोर्खा तथा प्राज्ञहरुको एक भेलाले विदेशी नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज हुने वर्तमान कानुनी प्रावधानलाई नै खारेज गर्न माग गरेका छन् ।
ब्रिटेन नेपाल लयर्स एशोसिएसनको आयोजनामा आइतबार, सिटी ल स्कुल, लन्डनमा ‘नेपालको संविधान र नागरिकता’ विषयक अन्तर्क्रियामा त्यस्तो माग गरिएको हो ।
नेपालको संविधान र दोहोरो नागरिकता विषयमा एक कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता गोविन्द बेल्बासेले नागरिकता ऐनको दफा १० मा विदेशी नागरिकता लिनासाथ नेपालको नागरिकता खारेज हुने भन्ने प्रावधान
नागरिकको सार्वभौम हक सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता एवं नेपालको संविधानको मर्म विपरित रहेकाले सो खारेज गरिनुपर्ने जिकिर गरे भने अर्का अधिवक्ता सुरेन्द्र श्रेष्ठले गैर आवासीय नेपालीहरुले आफूसंग रहेको नेपाली नागरिकता खारेज नगरियोस् भन्ने मात्रै माग गरेको तर विदेशीलाई नेपाली नागरिकता दिइनुपर्छ भन्ने माग नगरेको प्रष्टयाए ।
बेल्बासे र श्रेष्ठले सोही माग दावी गरी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आउँदो बैशाख ४ गते सुनुवाइ हुन लागेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालको संविधानले प्रजातन्त्र र मानवअधिकारका विश्वव्यापी मान्यताहरु आत्मसात गरेको र नयां संविधान जारी भएपछि नेपाल नयाँ युगमा प्रवेश गरेको बताए । उनले संविधान एक जीवन्त दस्तावेज भएकाले गैरआवासीय नेपाली लगायत समाजका विभिन्न वर्ग र समुदायका आकांक्षा र आवाजलाई सम्बोधन गर्न नेपालको संविधानमा प्रशस्त स्थान रहेको बताए ।
Subscribe to:
Post Comments (Atom)

Post a Comment